To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

एउटा मेटिएको इमेल ठेगाना

जर्नालिष्टउमा@जीमेलडटकम। यो इमेल ठेगानामा पठाएको सन्देश अब कसैले पढ्दैन। यसमा पठाएको सन्देशको जवाफमा कसैले धन्यवाद पनि भन्दैन। हो, यो उनै उमा सिंहको इमेल ठेगाना हो। उनीसँगै यस मेलबक्सको जीवन्तता पनि सकिएको छ।  
उनको पाशविक हत्या भएपछि माइतीघर मण्डलमा माघ १ गते भेला भएका पत्रकारको भीडमा राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत पत्रकार भानुभक्त आचार्यले भने– “सबैलाई आयोगको समाचार पठाउने क्रममा उनलाई पनि पठाएछु। राति कस्तो नरमाइलो लागिरह्यो। भोलिपल्ट उनको नाम ´मेलिङलिष्ट´बाट हटाएँ।”
पुस २७ गते उनीमाथि आततायीले आक्रमण गरी हत्या गरे। हामीसम्म त्यो खबर भोलिपल्ट बिहानमात्रै आइपुग्यो। त्यो मनहुस र निष्ठुर बिहानी। हामीले दैनिकीडटकम सुरु गरेयताको सबैभन्दा चिसो र मनै छियाछिया पार्ने खबर थियो– जनकपुरकी पत्रकार उमा सिंहको हत्या। बत्ती निभेको अँध्यारो रातमा निशाचरहरूले निर्मम प्रहार गरे। पत्रकारिताबाट समाज बदल्छु भनेर हिडेकी उमाका चित्कार हावामा यसै बिलाएर गयो।

  पात्र परिवर्तन भए पनि प्रवृत्ति यथावत् रहँदा आश्चर्य लाग्छ। नेपाली सेना (तत्कालीन शाही नेपाली सेना)बाट मानव अधिकार उल्लङ्घनका लागि कारवाहीका निम्ति दवाव हुँदा माओवादीले अहिले गरेकै जस्तो आन्तरिक कारवाही हुने गर्थ्यो।। ती व्यक्तिलाई अदालतमा नपुर्‍याइएका कारण तिनीमाथि कारवाही भएको मान्न सक्ने अवस्था थिएन। बरु धेरै हदसम्म दवावकै कारण बेलाबेलामा सेनाले तिनलाई कारवाही गरेको जानकारी दिने गर्थ्यो।

उमालाई मैले चिनेको थिइन। काठमाडौंबाट प्रकाशित हुने अखबारमा निस्किरहेका उनका लेखबाट उनीसँग साक्षात्कार हुँदै थियो। यसै पनि पत्रकार महिलाको संख्या कम र लेखक महिला झनै कम भएको स्थितिमा सम्भावनायुक्त व्यक्तिको उपस्थितिले खुसी लाग्छ। तर, त्यो खुसी धेरै दिन टिक्न पाएन। उनको हत्यापछि आएका प्रतिक्रियालाई मैले अध्ययन गर्दै आएको छु। यस घटनाले धेरै पत्रकार महिला मात्र होइन पुरुषका मनमा समेत भयको बीजारोपण गरेको छ। घरघरमा धेरैका आमाबा र आफन्तजनले यो पेसा खतरनाक भएकोले अन्य काम खोज्नसमेत भनेका छन्।  
माओवादीले “दीर्घकालीन जनयुद्ध”का नाममा हिंसाको राजनीतिलाई बढावा दिएपछि यसअघि नै राज्य र तत्कालीन विद्रोही पक्षबाट पत्रकार हत्याको शृंखलाले तीव्रता पाएको हो। यिनै हातले हामीले हाम्रा प्रिय सहकर्मीका निम्ति आँसुका अक्षरहरू धेरै पटक लेखेका छौं। पत्रकार कृष्णसेन इच्छुकलाई सरकारले हिरासतमै जीवन चुँड्दा होस् कि पत्रकार ज्ञानेनन्द्र खड्का वा डेकेन्द्र थापाको इहलीला माओवादीले समाप्त पार्दा होस् पत्रकारिता जगत् यसरी नै पीडित बनेको छ।  
उमा हत्या हिंसाबाट सत्ता कब्जा गर्ने सोचकै शृंखलाको अर्को शिकार हुन्। माओवादीले रोपेको विषवृक्ष झाँगिदै गएको मात्र हो। हिंसापूर्ण राजनीतिलाई माओवादी नेतृत्वले बन्द गर्न खोजे पनि समाजमा तिनले रोपेको यो विषवृक्षले धेरै वर्षसम्म नेपाली समाजलाई दुःख दिइरहने निश्चित छ। कसैको ज्यान लिए पनि केही हुन्न भन्ने मानसिकताले भलीभाँती जरो गाडिसकेको छ। यसकारण पनि माओवादी नेतृत्वले अब हिंसा हत्याको राजनीतिलाई दुत्कार्दै शान्तिपूर्ण राजनीतिमा सहभागी हुने दृढता व्यक्त गर्न ढिला भइसकेको छ।  
उमाको हत्या नेपालमा पत्रकार महिलाको पहिलो हत्या हो। विगतमा पत्रकारमाथि राजनीतिक प्रतिशोध वा यस्तै अन्य कारणले समेत आक्रमण भएका हुन्। तर, उमामाथि भएको हत्यामा धेरै हदसम्म पत्रकारिता जोडिएको बुझ्न सकिन्छ। हत्याराले यसरी नै आफूलाई मन नपर्ने व्यक्ति वा संस्थालाई ठेगान लगाउन सकिन्छ भन्ने सोचेको हुनुपर्छ, हत्या गर्ने मनसाय बनाउनुअघि।  
केही समययता तराईको राजनीतिमा दण्डहीनता मौलाउँदै गएको छ। कुनै पनि व्यक्तिको हत्या गरेर कुनै अमुक समूहको नाम लिइसकेपछि त्यो घटना त्यति फासफुस भएर जाने गरेको छ। उमा हत्याकाण्डमा पनि यसरी नै फासफुस भएर जान सक्ने महसूस हत्याराहरूले गरेको हुनुपर्छ। हत्या गरेपछि कुनै गुमानाम समूहका नाममा विज्ञप्ति सार्वजनिक गरेपछि अपराध लुकिहाल्छ भन्ने पनि तिनलाई लागेको हुनुपर्छ। तर, यसपटक प्रेस र नागरिक समाजको विरोध र दवावले धेरै हदसम्म काम गरेको छ।  
त्यही भएर सरकारले तीन व्यक्तिलाई उमा हत्यामा सम्बन्धित ठानेर गिरफ्तार गरेको छ। गिरफ्तारीले धेरै हदसम्म संचार जगतलाई आश्वस्त पारेको छ। तर, यसले नै मुलुकमा दण्डहीनताको अन्त्य भएको दर्शाउँदैन। आश्चर्यपूर्ण पक्ष के छ भने यता सञ्चारजगत् भावविभोर र आक्रोशित भइरहेका बेलामा सत्तारुढ एकीकृत नेकपा (माओवादी)ले भने रामहरि हत्याका प्रमुख दोषी कालीबहादुर खामलाई बढुवा गर्ने निर्णय गर्‍यो।  
माओवादीका दृष्टिमा यो जायज कार्य भए पनि मुलुकको दण्डहीनताको अत्यका निम्ति आवाज उठाइरहेका व्यक्तिका निम्ति यो विश्मयकारी घटना थियो। आफैंले पीडित परिवारसँग गरेको सम्झौताको मसी नसुक्दै माओवादीले त्यसका विरुद्धमा जाने निर्णय गर्‍यो। पुष्पकमल दाहालले पार्टीका तर्फबाट रामहरिको परिवारसँग गरेको सम्झौतामा कालीबहादुरसहितलाई दोषी ठहर्‍याई कारवाही गर्ने उल्लेख छ। तर, त्यस मुद्दालाई थाती राखी अब कारवाही फुक्का गरेको भन्छन् माओवादीका नेताहरू।  
ओ हो! यो कस्तो दण्डहीनताको स्थिति? व्यक्तिको हत्या गरेको विषय राजनीतिक दलको आन्तरिक मामिला हो र? एउटा पार्टीले केही महिना पार्टीबाट निलम्बन गरेका भरमा उसले गरेको अपराधबाट उन्मुक्ति प्राप्त हुन सक्छ र? माओवादीका निम्ति भने यो सम्भव छ, किनभने उसले आफ्नो सिंगो राजनीतिलाई हिंसाबाट प्रेरित भएको ठान्ने गरेको छ। यसले परिवर्तनको कारक हिंसाबाहेक अरूलाई मान्दै मान्दैन। यस अर्थमा कुनै व्यक्तिको हत्या हुनु माओवादीका निम्ति कुनै ठूलो विषय नबन्न सक्छ। यसकारण पनि मुलुकले दण्डहीनताको स्थितिबाट मुक्ति प्राप्त गर्न सकेको छैन।
माओवादीले जहिलेसम्म हिंसाहत्याको राजनीतिलाई पूर्णरुपमा परित्याग गर्न सक्दैन, तबसम्म प्रेस जगत मात्र होइन कसैले पनि शान्तिको सास फेर्ने अवस्था आउँदैन। माओवादीले आफूलाई यहीं नै सुधार गर्नुपर्ने अवस्था छ। माओवादीले शान्तिपूर्ण राजनीतिबाट पनि परिवर्तन सम्भव छ भन्ने पक्षलाई आत्मसात गर्न अझै सकेको छैन। उसले यस स्थितिबाट मुक्त हुने प्रयास गर्नु आवश्यक छ। हत्याको आरोप लागेका कालीबहादुर खामलाई प्रहरीले पक्राउ गर्न सकेन। गृह प्रशासनले आफ्नो हात चितवनको शक्तिखोरस्थिति शिविरमा जिम्मेवारी लिएर बसिरहेका कालीबहादुरसम्म लम्काउन पनि सकेन।  
मलाई आश्चर्य त्यतिबेला लाग्छ, जतिखेर पात्र परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुँदैन। नेपाली सेना (तत्कालीन शाही नेपाली सेना)बाट मानव अधिकार उल्लङ्घनका लागि कारवाहीका निम्ति दवाव हुँदा माओवादीले अहिले गरेकै जस्तो आन्तरिक कारवाही हुने गर्थ्यो। ती व्यक्तिलाई अदालतमा नपुर्‍याइएका कारण तिनीमाथि कारवाही भएको मान्न सक्ने अवस्था थिएन। बरु धेरै हदसम्म दवावकै कारण बेलाबेलामा सेनाले तिनलाई कारवाही गरेको जानकारी दिने गर्थ्यो। 
अहिले आएर माओवादीले त्यति पनि गर्न सकेको छैन। बरु कानुनको कठघरामा उभ्याउने मौका समेत नदिई तिनले आफैं चोख्याउने गरेका छन्। हत्याको आरोप पार्टीभित्रको आन्तरिक अनुशासनको विषय होइन, यो राज्य कानुन अनुसार कारवाही गर्नुपर्ने विषय हो। माओवादीले दण्डहीनताको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त नगरेसम्म गृह प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन।  
वामदेव गौतमले गृहमन्त्री पद समाल्नासाथ ठमेलका रेस्टुराँबाट कथित नग्न नृत्य बन्द गर्न गरेको पहलको सानो हिस्सामात्रै लगाएको भए कालीबहादुरहरू पक्राउ पर्ने थिए। उमाजस्ता होनहार भविष्य बोकेका पत्रकारको हत्या हुने थिएन। हत्या लुक्न सक्दैन भन्ने विश्वास राज्यले दिन नसकेसम्म उमा हत्याजस्ता निष्ठुर खबरहरू सुनिरहनु पर्ने हुन्छ।
उमा हत्याको दुई दिन अघिमात्र श्रीलंकाका साहसिक सम्पादक लासान्था विक्रमतुङ्गेको सम्झना गर्दै हामी यलमाया केन्द्रमा शोकसभा गर्दै थियौं। उनको दुई दिन अघि पुस २४ मा हत्या भएको थियो। ´द सन्डे लिडर´का ती सम्पादकका झल्को उमाको हत्यापछि फेरि पनि आइरह्यो। उमाले पनि उस्तै कडा लेख लेखेकी थिइन् बहालवाला मन्त्री मातृका यादवका विरुद्धमा।  
आफ्नो हत्या हुनुअघि पटकपटक ज्यानकै धम्की आउँदा समेत नटेर्ने र आफू कुनै सुरक्षाको उपाय नअपाउने विक्रमतुंगेले लेखेका थिए– “म मेरा हत्यारालाई के जानकारी दिन चाहन्छु भने म ऊजस्तो हजारौं निर्दोषको मृत्युको विरोध गर्दै मानव ढालमा लुक्ने कायर होइन।”
कसैको हत्याले प्रेस स्वतन्त्रताको झण्डा झुक्दैन। फेरि एक पटक म उनै सम्पादकका शब्द उद्धृत गर्न चाहन्छु– “म आशा गर्छु मेरो हत्यालाई स्वतन्त्रताप्रतिको पराजयका रुपमा लिइने छैन, बरु आफ्ना प्रयासका निम्ति बाँचिरहेकाका कदममा यो प्रेरक बन्न जानेछ।”

- यो लेख दैनीकी डट कम बाट साभार गरिएको हो । 

January 20, 2009 + Posted in अतिथी कक्ष, समाचार र बिचार, लेख रचना +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2009/01/20/p367/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.