निगमको फोस्रो दाबी
नेपाल आयल निगमले दुइ महिनामा दुइ पटक पेट्रोलको मूल्य बढाएको छ र अहिले पेट्रोल राजधानी उपत्यकामा प्रतिलिटर ८० रुपियाँ पुगेको छ। गत कात्तिक महिनामा पेट्रोलको मूल्यमा भारी वृद्धि गरी ७३ रुपियाँ ५० पैसा गरिएको थियो भने पुनः आयल निगमको घाटापूर्ति गर्ने भनी ६ रुपियाँ ५० पैसा बढाई ८० रुपियाँ पुर्याइएको हो। र, मूल्यवृद्धिसँगै निगमले पेट्रोलियम पदार्थ सहज उपलब्ध हुने पनि बताएको छ। उपभोक्ताले छिमेकी भारतमा पेट्रोलियम पदार्थको मूल्य, निगमले विगत लामो समयदेखि बेहोर्दै आएको अत्यधिक घाटालाई दृष्टिगत गरेर मूल्यवृद्धिलाई त सहलान् नै, तर आपूर्तिको कठिनाइलाई भने सहन गर्ने छैनन्।
हो, नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता रकम हर्ेर्ने हो भने यति बिघ्न घाटामा निगमले पेट्रोलियम पदार्थ बेच्न सक्दैन, मूल्य बढाउनु अपरिहार्य छ तर त्यो वैज्ञानिक र न्यायोचित पनि हुनुपर्छ। साथै निगमभित्रको अव्यवस्था र कर्मचारीको मनोमानी बुझ्ने हो भने किन सर्वसाधारण उपभोक्तामाथि मात्र बोझ थोपर्ने भन्ने प्रश्न पनि सहजै उत्पन्न हुन्छ।
निगमले विगतदेखि नै कर्मचारीलाई प्रदान गर्दै आएको विभिन्न खाले सुविधा, त्यहाँ व्याप्त भ्रष्टाचारले पनि संस्थालाई आर्थिकरूपमा यति धेरै कंगाल बनाएको बुझ्न गाह्रो पर्दैन। यसर्थ पनि निगमको चुस्त व्यवस्थापन, कर्मचारीको सुविधाभोगी मनोवृत्ति र भ्रष्टाचारको जालोलाई निष्क्रिय नपार्ने हो भने मूल्यवृद्धिले निगमलाई कुनै पनि हालतमा राम्रो हालतमा हित गर्दैन।
मूल्यवृद्धिविरुद्ध कलेजका विद्यार्थीबाहेक अन्य कुनै पनि उपभोक्ता हितका नाममा खुलेका संस्थाहरूले त्यतिसारो प्रभावकारी विरोध जनाएका छैनन्। तिनका विरोध प्रेस विज्ञप्तिमा मात्र सीमित रहेको छ। हुन सक्छ, ती संस्थाहरूले पनि मूल्यवृद्धिलाई स्वाभाविक देखेका होलान्, तर प्रश्न उठ्छ- निगमले भनेजस्तै पेट्रोलपम्पमा अहिले सहज ढंगमा पेट्रोलियम पदार्थ पाउन थालिएको छ त ? अवश्य छैन। आयल निगमले चाहेमुताविक मूल्यवृद्धि गरिसकेपछि पनि किन पेट्रोलियम पदार्थ सहज हुन सकेन ? यसबारेमा भने च्याउसरि खुलेका उपभोक्ता (हित !) नामका संघ-संस्थाले आवाज उठाउनु जरुरी छ। यसका अतिरिक्त निगमभित्रको अव्यवस्था, भ्रष्टाचारलगायतका विषयमा पनि आवाज उठाउनु आवश्यक छ।
आयल निगमको मूल्यवृद्धिपश्चात् आपूर्ति सहज हुने दाबी फोस्रो भएको प्रमाण उपत्यकाका पेट्रोलपम्पमा सधैँ झैँ मूल्यवृद्धिको भोलिपल्ट बिहीबार बिहानैदेखि लाम लागेका सवारीसाधनले नै दिन्छन्। सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइसकेको वर्तमान परिप्रेक्ष्यमा निगमले अविलम्ब सहज आपूर्तिको व्यवस्था गर्नै पर्छ, अन्यथा पेट्रोलियम पदार्थको वितरणको जिम्मा दिन वैकल्पिक उपाय खोज्नुको अर्को विकल्प छैन।
स्रोत :नेपाल समाचार पत्र
December 29, 2007 + Posted in आवाज +
नेपाल आयल निगम भित्र भएको भ्रष्टचार हटाउनु पर्दछ , मन्त्रिलाई दिने कमिसन हटाऊनु पर्दछ अनि मात्र पेट्रोल सहज रुपमा उपलब्ध हुन्छ . भाऊ सङ्गै कमिसन बढाएपछि कहा सकिन्छ र ऋण तिर्न ?
Comment by Bishwa — December 29, 2007 @ 8:38 am
दाबी गर्दैमा के नै हुन्छ र ?
Comment by आकार — December 30, 2007 @ 6:20 pm
happy new year-2008
Comment by आकार — December 31, 2007 @ 9:14 pm