आखिर जे नहुनुपर्ने थियो त्यही भयो {दु:खको समाचार }
राजेन्द्र बी टेस्टमा पनि असफल
शक्तिबर्धक प्रतिबन्धित औषधि प्रयोगको विवादमा मुछिएका राजेन्द्र भण्डारीको ‘बी’ टेस्ट पनि उनको पक्ष्ामा रहेन । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गर्दै राजेन्द्रको ‘बी’ टेस्टमा पनि प्रतिबन्धित शक्तिबर्धक औषधि नाइन्टिन-नारोनड्रोस्टेरोनको अंश भेटिएको पुष्टि गर्यो ।
श्रीलंकाली राजधानी कोलम्बोमा भएको दसौं दक्षिण एसियाली खेलकुद -साफमा दुई स्वर्ण जितेका राजेन्द्र डोपिङमा समातिएका हुन् । उनको ‘ए’ टेस्टमा प्रतिबन्धित नाइन्टिन- नारोनड्रोस्टेरोन भेटिएको थियो । आफू निर्दोष भएको दाबी गर्दै उनी ‘बी’ टेस्टका लागि मलेसिया गएका थिए र शुक्रबार मात्र त्यहाँबाट फर्केका हुन् ।
राजेन्द्रले दसौं सागमा पाँच हजार मिटर दौड र तीन हजार मिटर स्टिपलचेजमा स्वर्ण जितेका हुन् । राजेन्द्रले एक दिनको अन्तरमा दुई स्वर्ण जितेका हुन् । राखेप र नेपाल ओलम्पिक कमिटीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा ‘ए’ टेस्टमा जस्तै ‘बी’ टेस्टमा पनि प्रतिबन्धित शक्तिबर्धक औषधि नाइन्टिन-नारोनड्रोस्टेरोनको अंश मापदण्डभन्दा बढी भेटिएको जनाएको छ ।
नेपाल ओलम्पिक कमिटीलाई शुक्रबार मात्र ‘बी’ टेस्टको नतिजा प्राप्त भएको हो । राखेप सदस्यसचिव जीवनराम श्रेष्ठले आफूहरूले खेलाडीको अधिकतम हितलाई ध्यानमा राखेर काम गरेको दाबी गरे र अब सबै प्रक्रिया राखेपले गठन गरेको छानबिन कमिटीको प्रतिवेदनअनुसार हुने बताए ।
एक महिनाको समयावधि रहेको छानबिन कमिटीले काम सुरु गरेको दुई साता भइसकेको छ र यसको अध्यक्ष्ामा राखेप उपाध्यक्ष्ा सीताराम मास्के छन् । ‘बी’ टेस्टको नतिजा पनि प्रतिकूल भएपछि राजेन्द्रले सागमा जितेका दुई स्वर्ण खोसिने लगभग तय भएको छ भने यससँगै उनीमाथि दुई वर्ष सबै प्रकारको मान्यताप्राप्त प्रतियोगितामा प्रतिबन्ध लाग्नेछ ।
यसको निर्णय भने एसियाली एथलेटिक्सको सर्वोच्च संस्थाले गर्नेछ । पत्रकार सम्मेलनका अवसरमा ओलम्पिक कमिटी महासचिव ध्रुवबहादुर प्रधानले राजेन्द्रसामु अब कानुनी लडाइँ लड्ने बाटो मात्र खुला रहेको बताए । उनका अनुसार मलेसियामा परीक्ष्ाण गरिएको प्रयोगशालामा खेलाडीको मूत्र दुई वर्षसम्म सुरक्ष्ाित रहनेछ ।
समाचार :नेपाल जापान डट कम
मलेसिया गएर राजेन्द्रले आफु माथि आफूविरुद्ध षड्यन्त्र भएको हुनसक्ने कुरा पत्ता लगाएका छन । राजेन्द्रबाट प्राप्त जानकारीअनुसार सन् १९९९ मा आठौँ साफ गेम काठमाडौँमा आयोजना गरिँदा ७३ खेलाडीबाट लिइएको नमुना डोपिङ परीक्षणका लागि सोही प्रयोगशालामा पठाइएको थियो र पछि सन् २००१ मा नेपालबाटै थप आठ जनाको नमुना पनि डोपिङ परीक्षणका लागि त्यही प्रयोगशालामा पठाएर रिपोर्ट लिएर पनि नेपालले त्यसको रकम अहिलेसम्म भुक्तानी दिएको छैन । यस्ले गर्दा पनि राजेन्द्रमाथि यो दोष लगाइएको हुन सक्छ ।
October 8, 2006 + Posted in आवाज, Breaking News +